तनहुँमा दुई माइक्रो बस ठोकिँदा १२ यात्रु घाइते


पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा  माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माइक्रो मङ्लगबार राती ९ः२० बजे  एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरूमध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।  खाँडका अनुसार दुर्घटनामा परी तनहुँको व्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते हुनुभएको छ । यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ,  वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते हुनुभएको छ । यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनुभएको छ। घाइते आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको  व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।