यातायात क्षेत्र सुधार गर्न ११ बुँदे घोषणा पत्र जारी, भदौदेखि सबै यातायात कार्यालयमा अनलाइन सेवा


सरकारले यातायात क्षेत्रलाई व्यवस्थित र सुधार गर्न ११ बुँदै घोषणा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि सो घोषणा पत्र जारी गरेका हुन ।

यातायात क्षेत्रका समस्या पहिचान गरी ती समस्याको मिति नै तोकेर समाधन खोज्नेगरी घोषणा पत्र जारी भएकाे हाे ।

धुलिखेलमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सहित सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्री सहभागी थिए ।

 

जसमा भदौदेखि सबै यातायात कार्यालय अनलाइन मार्फत सेवाप्रवाह गर्ने, अनलाइन भुक्तानी, प्रमुख बिषय समेटिएको छ ।

चालक अनुमति पत्र (स्मार्टकार्ड)को छपाई, इम्बोस्ड नम्वर प्लेट, पुराना सवारी साधनको लगत कट्टा, रायड सेयरिङ, विदेशी सवारी चालकको नेपालीकरण, वैज्ञानिक भाडादर निर्धारण जस्ता ११ विषयमा घोषणा पत्र जारी भएकाे छ ।

त्यस्तै २०८० कात्तिकभित्र सरकारी सवारीसाधनका सबै गाडीमा इम्बोस्ड नम्वर प्लेट जडान गरी गर्ने तयारी छ ।

विद्युतीय सवारीसाधन दर्ता प्रणाली (भीआरएस)लाई विस्थापन गरी ईडीएल भीआरएस परियोजनाअन्तर्गत विभागबाट व्यवस्था गरिएको प्रणालीलाई भदौदेखि लागू गर्ने निर्णय भएको छ ।

त्यस्तै स्मार्टकार्ड प्रदेशस्तरमा नै छपाई गरी वितरण गर्न तयारी छ ।