दोलखाको गौरीशंकरमा पहिरो : चार जना बेपत्ता


दोलखाको गौरीशंकर गाउँपालिका स्थित वडा नम्बर ७ को टोपाटारमा गएरातिको पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। गएराति गएको पहिरोमा परेर दुई घरका चार जना बेपत्ता भएका हुन् ।  पहिरोमा पुरिएका तीन जना घाइतेको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय गौरीशंकरका प्रमुख बासुदेव थापाले जानकारी दिए । 

वडा नं ८ को सल्ले भन्ने ठाउँमा गएको पहिरोमा परेर १६ घर जोखिममा परेका छन् भने ६ घर बगाएको छ। सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि ३ घर पुरिएको उनको भनाइ छ। बेपत्ताहरुको पहिचान हुन सकेको छैन ।

घटनास्थलमा अहिले प्रहरी र स्थानीयले उद्धारको कार्य गरिरहेका छन्। प्रहरी प्रमुख थापाका अनुसार हिजो दिनभर जस्तो परेको अविरल बर्षाका कारण पहिरो झरेको हो ।

घटनास्थल दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ। बाढीले खारे खोलाको एक झोलुंगे पुल समेत बगाएको छ। झोलुङ्गे पुल बगाउँदा आवतजावतमा समस्या भएको वडा प्रहरी प्रमुख थापाले जानकारी दिए।