केदारनाथ क्षेत्रमा नेपाली बसेको होटेल नै पहिरोमा, जुम्लाका तीनजनाको सनाखत


भारतको केदारनाथ दर्शनका लागि गएर पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन । 

पातासारी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले केदारनाथ पहिरोमा परी बेपत्ता हुनेमा ११ जना आफ्नो गाउँपालिकाका नागरिक रहेको बताउनुभयो ।

उहाँले बेपत्ता मध्ये अहिलेसम्म पातारासी गाउँपालिकाका तीनजनाको सनाखत भएको बताउँदै मृत्यु हुनेमा  वडा नम्बर २ का वर्ष ५६ का धनराम बुढा, वर्ष २२ का नन्द नेपाली र वडा नम्बर ३ का ४१ वर्षका सुकराम रावत रहेको बताउनुभयो ।

उहाँले बाँकी आठ जना पातारासीकै नागरिक बेपत्ता रहेको खबर आएको बताउँदै अन्य बेपत्ता हुनेमा तिला र तातोपानी गाउँपालिकाका नागरिक पनि रहेको जानकारी आएको बताउनुभयो ।

सो पहिरोमा परी १९ जना बेपत्ता हुनुभएको थियो । गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटेल नै पहिरोमा पर्दा बेपत्ता भएका थिए । केदारनाथ पहिरोमा बेपत्ता भएको जुम्ला नागरिकहरुको जानकारी लिनका लागि प्रहरी टोली गाउँपालिकातर्फ परिचालन गरिएका प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

उहाँले भारत सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिएको बताउनु भयो ।  सो पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएको खबर आएको छ ।