एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा दुई समूहबीच निर्वाचन हुने


नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि दुई प्यानल बन्ने देखिएको छ । बुटवलमा जारी लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने देखिन्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्दसत्रमा सहमतिमा टुङ्ग्याउन निर्देशन दिए पनि अध्यक्षसहित पदाधिकारीमा दुई समूहको छुटाछुट्टै उम्मेदवारी दर्ता भएको हो । आइतबार अबेरसम्म पनि सहमतिको प्रयास भए पनि अन्ततः अध्यक्षमा वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सोमबार बिहानैबाट निर्वाचन कार्यक्रम सुरु गरेको छ । आज बिहान १० बजेसम्म मनोनयनको समय तोकेको छ । अहिलेसम्म निर्वाचन मण्डलले मतदान हुनेरनहुने जानकारी दिएको छैन । तर एक एमाले केन्द्रीय सदस्यका अनुसार अब निर्वाचन हुने पक्का भएको छ ।

१० बजेसम्म मनोनयनको समय दिइएको र त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । निर्वाचन कमिटीका सदस्यीय विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अन्य प्रक्रिया थाल्ने बताए ।

यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ । नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलबीच शक्ति संघर्ष देखिएकाले अधिवेशन पेचिलो बनेको हो । महासचिव पोखरेलले केन्द्रिय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई समर्थन गरेका छन् ।

योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएका छन । पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेत नारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् ।

त्यस्तै पार्टी सचिव छविलाल विश्वकर्मा, अर्का सचिव गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायतका नेताहरू कँडेलको पक्षमा छन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।