सर्वोच्च अदालतबाट बिहीबार भएको परमादेशको औपचारिक जानकारी केहीबेर अगाडि कार्यालयमा प्राप्त भएपछि आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो ।
कार्यालय स्रोतका अनुसार नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गरिने छ भने साँझ ६ बजेसम्म शपथ गर्ने गरी तयारी भइरहेको छ । यद्यपि दलका नेता कार्कीले भने केही मन्त्रीको साथमा शपथ लिने तयारी गर्नुभएकोले ढिलाइ हुनसक्ने अनुमान गरिएको छ ।
नेता कार्कीले आज नेकपा (एमाले)का सांसद एकराज कार्की र तीलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिरहनुभएको छ । नेता कार्कीले मेन्याङ्बोलाई तुरुन्त आउन खबर पठाउनुभएपछि उहाँ ताप्लेजुङबाट साँझसम्म आइपुग्ने गरी हिँड्नुभएको छ ।
बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
गत पुसमा नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्की सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि असार १४ गते विश्वासको मत पाउन नसकेपछि सरकारबाट हट्नुभएको थियो ।
त्यसपछि बनेको दुई ओटा सरकारका मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसकेपछि फेरि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।
कोशी प्रदेश सभामा नेकपा (एमाले)का ४० सांसद हुनुहुन्छ । सरकार गठन गर्न आवश्यक ४७ जना सांसद नहुँदा कोशी प्रदेशमा गठबन्धन बनाएरै सरकारलाई स्थायित्व दिनुपर्ने अवस्था छ ।