प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण : नेपाल र चीनको सम्बन्ध मजबुत बनाउने विश्वास


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द एवम् हार्दिकतापूर्वक कुराकानी भएको र यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनमा आएर सर्वोच्च नेता सी चिनफिङसँग सौहार्द र हार्दिकतापूर्वक कुराकानी भयो । यसले निकै उत्साह नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिने, कनेक्टिभिटीलाई नयाँ मार्गप्रशस्त गर्ने, नयाँ गति दिएर आपसी सम्बन्ध मजबुत बनाउन सकिने विश्वास लिएका छौँ ।”

उहाँले चीन भ्रमण सफल बनाउन नेपालका लागि चिनियाँ राजदूतले धेरै मिहेनत गरेको भन्नुहुँदै विशेष सद्भाव र सम्मान प्रकट भएकोमा विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्रीको हैसियतले तेस्रो र राजनीतिक नेतृत्वको हैसियतले पाँचौँ चीन भ्रमण भएको उल्लेख गर्नुहुँदै उहाँले सबै भेटमा चीनका नेतासँग महत्त्वपूर्ण छलफल गर्दै अघि बढ्ने अवसर प्राप्त भएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सम्मान, सद्भाव जे भनेपनि पहिलेभन्दा अलि विशिष्ट हुन गएको मैले महसुस गरेको छु ।’’

राष्ट्रपति सीसँग आपसीहित, पूर्वाधारको क्षेत्र, कनेक्टिभिटीमा रेल, हवाई यातायात, बाटोघाटो लगायत पर्यटन, शिक्षा, स्वास्थ्य र विशेष गरी कृषि क्षेत्रमा सहयोग सम्बन्धमा छलफल भएको उहाँको भनाइ छ ।

उहाँले न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको कार्यक्रम पश्चात् सिधै चीन भ्रमणको संयोग मिलेको प्रसङ्ग पनि जोड्नुभयो ।

शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र दुई पटक शान्तिपूर्ण एवम् प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको विषयमा छिमेकी राष्ट्र, विकसित मुलुक एवम् अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।