चीन भ्रमण सफल रहेको प्रधानमन्त्री प्रचण्डको दाबी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ । तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्रराष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताउनुभएको हो ।

 

राष्ट्रिपति सि चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै संचालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

विगतमा संचालन भएका प्राय सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गर्नुभयो ।


प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महाबाणिज्यदूताबासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महाबाणिज्यदूत र दूताबासका सबै कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले नेपाल चीनबीच भएका सहमति तथा सम्झौताहरु कार्यान्ययनका लागि सकृय रहन महाबाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिनुभयो ।

कार्यक्रममा ल्हासाका लागि नेपाली महाबाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भुमिका र महत्व, महाबाणिज्य दूताबासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्वपूर्ण कामहरु र भोगिरहेको समस्या लगाएतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा भ्रमण चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभयो ।

समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले दरबारका बारेमा जानकारी गराएका थिए ।


त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गर्नुभयो । जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेका छ । यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनहरुले विशेष महत्वका साथ सम्मान गर्ने गर्दछन ।

मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरुले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुबै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरु पनि सहभागी रहेका थिए ।