१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानु भएको हो ।
साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ ।
यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनु भएको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।
जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी रहेको छ ।
यसैगरी, रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।