पश्चिम नेपालका भूकम्पप्रभावित क्षेत्रमा मानविय सुरक्षाका लागि मङ्सिरभित्रमै अस्थायी टहरा निर्माण गरिसक्नुपर्ने नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले धारणा राख्नुभएको छ । नेता शर्माले भूकम्पप्रभावित क्षेत्रमा अत्यधिक चिसो बढेकाले मानविय जिवननै खतरामा पर्न सक्ने तर्फ सबैको ध्यानार्कण गर्दै अस्थायी टहरा निर्माणमा सबै लाग्नुपर्ने बताउनुुभएको हो ।
उहाँले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनर्निमाणका लागि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सक्रिय रहेको बताउँनुुभयो । सबै दलको ध्यान सो क्षेत्रमा पर्नु पर्ने धारणा राख्दै अखिल क्रान्तिकारीले भग्नावशेष पन्छाउने, स्थायी टहरा बनाउने काममा सय जना भन्दा बढिको टोली खटाएको बताउनुुभयो ।
रुकुम पश्चिममा क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अध्यक्ष पञ्चा सिंह आफै खटिए टहरा निर्माणमा लागेका छन् ।
जिल्लाभरको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव एवं सोही क्षेत्रका जनप्रतिनिधि जनार्दन शर्माले गरेका छन् । त्रिपालबाट भूकम्प पीडितलाई छानामुनि ल्याउन शर्माको नेतृत्वमा तीन हजार स्वयंसेवक परिचालन गरिएको बताएका छन् ।
जाजरकोटमा सरकारका उर्जामन्त्रीसमेत रहेका अर्का उपमहासचिव एवं जनप्रतिनिधि शक्तिबहादुर बस्नेतले कमाण्डले काम गरेको छ । यस्तै सो क्षेत्रमा अन्य दलका भातृ संगठनले समेत काम गरिरहेको जनाएका छन् । त्रिपाल र जस्तापाता आफैमा चिसो हुने भएकाले जनतालाई चिसोबाट बचाउन भित्रै बस्ने, आगो बाल्ने, खाना पकाउने र सुत्ने व्यवस्था टहरोमै बनाइउने प्रयास जारी रहेको छ ।
कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति भएको थियो । भूकम्पबाट जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको थियो । ९० प्रतिशत भौतिक संरचना पूर्ण क्षति भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
चिसो बढ्दै जाँदा प्रभावित क्षेत्रका जनताको जीवनस्तर निकै कष्टकर हुँदै गएको छ । सरकारले तत्कालका लागि टहरा बनाउन प्रति परिवार ५० हजारका दरले राहात वितरण गरेको छ ।