एमालेको विरोध गर्नेहरू समृद्धिका बाधक : एमाले अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताउनुभएको छ। एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उहाँको भनाइ छ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिम आइपुग्नुभएका अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले शान्ति, सद्भाव र एकता बिना विकास सम्भव नहुने टिप्पणी गर्नुभयो। कोशी प्रदेशमा समृद्धिका लागि सयौँ आयोजना सञ्चालन गर्ने सम्भावना रहेका कारण निर्माणमा जुट्न युवालाई उहाँको आग्रह छ।

युवा पुस्ता पहिले अनुत्पादक क्षेत्रमा लागेर समय बरबाद गर्ने, समय गुज्रेपछि विदेशीको घर र देश बनाइदिन जाने गरेको भन्दै उहाँले देशमा विकास आयोजना बन्दा युवा पुस्ता पलायन हुनबाट रोकिने बताउनुभयो।

सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्धिका पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले पहाडबाट बसाइँ सरेर तराई र सहरी क्षेत्रमा जानेक्रम रोक्न यसअघि निर्माण थालिएका मध्यपहाडी राजमार्ग, तमोर जलसायुक्त आयोजना, उत्तर दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका पाँच शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्ने बताउनुभयो।

समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आफ्नो नेतृत्वका नेता कार्यकर्ता कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधरका नेताले विरोध गरेको भन्दै उहाँले त्यसको अर्थ नभएको बताउनुभएको छ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिबार १७ औँ दिनमा पाँचथरको फिदिम आइपुगेको हो। उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङ पुगेर समापन हुँदैछ।