आन्दोलनमा जानुपर्ने परिस्थिति बन्दै छ : ओली


एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउँदै ओलीले त्यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वाभिमान र एकतामाथि प्रश्न उठ्ने गरी संकट बढ्दै गएको र अर्थतन्त्र डामाडोल बन्दै गएको दाबी गर्दै उनले सत्तारूढ गठबन्धनबाट मुलुकको नेतृत्व सम्भव नभएको बताए । देशको अवस्था अहिलेजस्तो खराब कहिल्यै नभएको उनको भनाइ थियो ।

नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाँड्ने काम भइरहेको ओलीको भनाइ थियो ।

विद्युत् व्यापार, देशको भूभागको रक्षालगायत विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेबल मात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको पनि ओलीले आरोप लगाए । पार्टीभित्र अराजकता र अनुशानहीनता बढ्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले आगामी ०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्षका रूपमा अभियान चलाइने बताए ।

ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनीत ६ जना नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । गत २० पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका पाँचजना निवर्तमान प्रदेश अध्यक्ष र एकजना जिल्ला अध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।