रियाल मड्रिडको सानदार जित


स्पेनिस ला लिगामा अल्मेरियाविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै रियाल मड्रिडले सानदार जित निकालेको छ । खेलको पहिलो मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा एजर गोन्जालेजले गोल गरेपछि अल्मेरियाले पहिलो हाफमा घरेलु टिमविरुद्ध २–० को अग्रता बनाएको थियो । ५७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रियालका जुड बेलिङ्घमले घरेलु टिमका निम्ति पहिलो गोल फर्काए ।

६७औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । इन्ज्युरी समयमा ड्यानी कार्भाहालले निर्णायक गोल गरेपछि रियालले ३–२ को सानदार जित निकाल्यो । जितसँगै २० खेलबाट ५१ अंक जोडेको रियल ला लिगाको दोस्रो स्थानमा छ । २१ खेलबाट मात्र ६ अंकको अल्मेरिया पुछारमा छ । जारी सिजन लिगमा अल्मेरिया जितविहीन छ ।