नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश


नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो ।अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् ।

नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका शीर्ष तीन ब्याटर सस्तैमा पेभेलिएन फर्किएका थिए । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे ।’ विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए ।

२४औं ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर नासिर खानको बलमा क्याच आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमाउन पुग्यो । दीपक डुम्रे ५ र दिपेश कंडेल ४ रन बनाएर क्रमशः अरब गुल र नासिर खानको बलमा आउट भए । घजनफरले देवलाई ३७औं ओभरमा १९ रन बाँकी रहँदा आउट गरे । दीपक बोहरालाई ४२ बलमा २७ रन बनाएर दावुदजाईले बोल्ड गरे । त्यो अवस्थामा नेपाललाई ६ रन आवश्यक थियो । सुवाष भण्डारी र तिलक भण्डारीले नटआउट रहँदै नेपाललाई जित दिलाए । सुवाष ९ रनमा र तिलक शुन्यमा अविजित रहे ।

त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०।१ ओभरमा १४५ रनमा समेट्न सफल भएको थियो । नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।

जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए । हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए । आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए । शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए ।

अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई और गरेर गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे । नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।

नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ । समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ । नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

चौथो स्थानको अफगानिस्तानले भने अब समूह ए को चौथो टोलीसँग खेल्नेछ ।