लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले उक्त आक्रमणलाई आतंकवादी कार्य र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन मानेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा पूर्वी कंगोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय संकट अझै बिग्रिएको छ । सन् २०२१ को अन्त्यमा पुनःरुत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय संकट निम्त्याएको छ र कंगोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ ।
यसैबीच, गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् । विपद् राहत कोष कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए । लिकौला, प्लेटक्स, क्युभेट र पुल गरी चारवटा विभागहरूका लागि बनाइएको कोषले स्थानीय सरकारलाई पानी, सरसफाई, स्वास्थ्य र खाद्य सुरक्षाको समस्या सामना गर्न सक्षम बनाउनेछ । कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले बाढी पीडितहरूका लागि आपतकालीन मानवीय प्रतिक्रियामा सरकारलाई सहयोग गर्न ३६ लाख जारी गरेको एमबुरूले बताए ।
राष्ट्रव्यापी भारी वर्षाका कारण आएको बाढीबाट कम्तीमा २३ जनाको मृत्यु भएको सरकारी प्रवक्ता थिएरी मोंगाल्लाले बताएका छन् । बाढीका कारण कूल तीन लाख ३६ हजार ५६० जना मानिस प्रभावित भएका थिए । तीमध्ये ६ हजार १७८ जना विस्थापित भएका थिए । बाढीले प्रभावित क्षेत्रका २६ वटा स्वास्थ्य केन्द्र १२० वटा विद्यालय र करिब ६४ हजार घरहरूमा पूर्णरुपमा क्षति पुर्याएको छ । रासस र सिन्ह्वा…