काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन


काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २।२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने ।

यसैगरी तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ उनले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए ।

यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए । बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन । ‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ मौसमविद झाले भने । अनलाइनखबरबाट…