नेपालमा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी प्रतिवेदन तयार भएको आरोप


एनसेलको शेयर खरिदविक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिको संयोजक रहेका पूर्व महालेखापरीक्षक टंकमणि शर्मा, सदस्यहरु फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्लेले करिब दुई महिना लगाएर एनसेल खरिद–विक्री प्रकरणको छानविन र प्रतिवेदन तयार गरेका थिए । रिपोर्टर्स क्लब नेपालले एनसेल शेयर खरिदविक्री प्रकरणको छानविन प्रतिवेदन र यथार्थताबारे जानकारीका लागि विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा अर्थविद् डा.गोपीलाल न्यौपानेले एनसेल शेयर खरिद–विक्री प्रकरणमा टंक शर्मा नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन ठीक ढंगले नआएको दाबी गरेका छन् ।
उनले नेपालमा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी प्रतिवेदन तयार भएको आरोप लगाए । नेपाललाई रोजगारी चाहिएको र उद्योग, कलकारखाना खोल्न आवश्यक रहेको बताउँदै उनले भएका उद्योगलाई सरकारले लखेटेपछि लगानी नभित्रिने उनको भनाई छ । अर्थविद् न्यौपानेले विदेशी लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्नुपर्ने बताएका छन् ।