पहिरोले स्वास्थ्य चौकीमा क्षति


ढोरपाटन (बागलुङ), २९ असार: पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दैआएका छन् ।

स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिनुभयो । करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ । जोखिम मोलेर बिरामीको उपचार गर्नुपरिरहेको प्रमुख सर्वुजा बताउनुहुन्छ । गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकी भवन जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उहाँले बताउनुभयो । निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उहाँ बताउनुहुन्छ ।

“पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,” प्रमुख सर्वुजाले भन्नुभयो, “दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ ।”