मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर


काठमाडौँ, ३१ असार: नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उहाँले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभएको छ । गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उहाँको भनाइ छ । “सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ । अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटकपटक जेल पर्नुभएका अधिकारी नेपाली कांग्रेस धादिङको सभापतिसमेत हुनुहुन्छ । उहाँ विसं २०७९ को संसदीय निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । धादिङको सुनौलाबजार नेवारपानीमा विसं २०१८ भदौ १८ गते जन्मनुभएका अधिकारी २०३६ सालको जनमत सङ्ग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसका तर्फबाट सक्रियरूपमा सहभागी हुनुभएको थियो । पञ्चायतविरुद्धको आन्दोलन गर्दा उहाँ विसं २०४५ वैशाख ६ गते गिरफ्तार हुनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि राजनीतिमा थप सक्रिय हुनुभएका उहाँ आठौँ महाधिवेशनमा पार्टीको जिल्ला सहसचिव निर्वाचित हुनुभयो ।

मन्त्री अधिकारी विसं २०५३ को नवौँ महाधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी हुनुभएको थियो । पछि सभापतिमा निर्वाचित दामन पाख्रिनको विसं २०५४ कात्तिक २६ गते निधन भएपछि अधिकारीलाई नै बाँकी अवधिका लागि जिम्मेवारी दिइएको थियो । पहिलोपटक विसं २०५६ को आमनिर्वाचनमा धादिङ क्षेत्र नं २ बाट सांसद निर्वाचित उहाँ धादिङ कांग्रेसको २०५५, २०५७, २०६२, २०६७ र २०७८ सालमा गरी पाँचपटक सभापति निर्वाचित हुनुभयो । विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पराजित हुनुभएका अधिकारी २०७९ मङ्सिरको संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का खेमप्रसाद लोहनीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उहाँलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधिबारेमा मन्त्री अधिकारीलाई जानकारी गराउनुभएको थियो ।