आजदेखि भानु कप फुटबल


दमौली (तनहुँ), १९ साउन: तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ । 

यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार दुई सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।  

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार दुई सय ११ पुरस्कार प्रदान गरिनेछ । सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।