सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी


काठमाडौँ, १३ असोजः रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताउनुभएको छ ।

बाढीबाट खुर्कोट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ ।

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबँेसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उहाँले बताउनुभयो ।